स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ बाट खुला वडा सदस्य लडेका एमाले केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल पराजित भएका छन्।
जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति समेत भइसकेका पौडेललाई कांग्रेका सम्भव अर्यालले पराजित गरेका हुन्।
वालिङ–१ मा खसेको १ हजार ८ सय ३४ मतमा पौडेलले ६४५ मत पाएका थिए भने उनलाई पराजित गरेका अर्यालले १ हजार ११२ मत पाएका थिए। उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ।
वालिङ नगरको मेयरमा दोस्रो कार्यकालका लागि कांग्रेसबाट दिलिपप्रताप खाँण र एमालेका कृष्ण खाँण उम्मेदवार छन्।
वडा सदस्य निर्वाचित भएर जिल्ला समन्वय समितिमा जाने लक्ष्य राखेका पौडेलले पराजित भएपछि निर्वाचनमा हार/जित स्वाभाविक भएको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘चुनावमा गएपछि हार/जित भैहाल्छ। जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो। सबै साथीहरू धैर्य बनौं।’