काठमाडौं महानगरपालिकामा पछिल्लो २४ घण्टामा ६ हजार मतगणना भएको छ।
अहिलेको गतिमा मतगणना भए काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन लाग्ने देखिएको छ।
३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा ६३ प्रतिशत मतदान भएको थियो।
सेतोपाटीले प्राप्त गरेको तथ्याङ्कअनुसार काठमाडौंमा १ लाख ९१ हजार मत खसेको थियो।
अहिलेकै गतिमा मतगणना हुने हो भने मत गन्न मात्रै ३० दिन लाग्ने देखिएको छ।
२०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरको मतगणना गर्न १४ दिन लागेको थियो। त्यतिबेला मतगणनामा ढिलाई भएपछि निर्वाचन आयोगले हस्तक्षेप गर्दै छिटो गणना गर्न निर्देशन दिएको थियो।
अघिल्लो स्थानीय निर्वाचनमा परिणाम आउन ढिलाई भएकै कारण यसपटक आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई ७ दिन भित्रै मतगणना सम्पन्न गर्ने गरि व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो। तर मुख्य निर्वाचन अधिकृतहरूले मतगणना छिटो गर्ने विषयमा ध्यान पुर्याउन सकेका छैनन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना गर्ने जिम्मेवारी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको हुने बताए।
'कानुनले उहाँहरूलाई जिम्मेवार बनाएको छ', प्रवक्ता शर्माले भने, 'आयोगले पनि यो विषयलाई नोटिसमा लिएको छ। आयोगले उचित निर्णय गर्छ।'
निर्वाचन आयोगले जेठ ६ गतेसम्म परिणाम नआए संवैधानिक रूपमा रिक्तताको अवस्था आउने उल्लेख गरेको थियो।
निर्वाचनको मिति तोक्ने बेला भएको बहसमा प्रधानमन्त्री सामू आयोगले राखेको प्रस्तावमा 'नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६) र धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम संवत् २०७९ जेठ ५ मा समाप्त हुने भएकोले त्यस अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवम् कानुनी दायित्व' भएको उल्लेख गरेको थियो।
तर आयोग अहिले निर्वाचन अधिकृतहरुलाई मतगणना पन्छाएर संवैधानिक दायत्वबारे मौन बसेको छ।
काठमाडौं जस्तै देशभरका महानगरपालिकाहरूमा मतगणनामा ढिलाई भइरहेको छ।
अहिलेसम्म थोरै जनसंख्या भएका उच्च हिमाली क्षेत्रका गाउँपालिकाहरूको मात्र नतिजा आएका छन्।
गणना भइरहेका पहाडी क्षेत्रका स्थानीय तहका पनि परिणाम संविधानले तोकेको समय भित्रै आउने देखिएको छ।
तर उपमहानगरपालिका र महानगरपालिकामा आयोगले मतगणनामा तीव्रता दिन सकिरहेको छैन।