ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
महानगर प्रमुखका लागि खसेको मतमध्ये हजार मतको गणना सम्पन्न हुँदा कांग्रेसका चिरिबाबु महर्जन निकै अगाडि छन्।
महर्जनले हालसम्म ५०५ मत प्राप्त गरेका छन्। महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार २३६ मतसहित पछ्याइरहेका छन्।
महानगरको उपप्रमुखमा भने एमाले अगाडि देखिएको छ। एमाले उपप्रमुखका उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २६३ मत पाएकी छन्।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रले बाबुराज बज्राचार्यले १६१ मत ल्याएका छन्। उनी सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्।
महानगरको प्रमुखका लागि एमालेबाट व्यञ्जनकार, कांग्रेसबाट महर्जन, विवेकशील साझाबाट उज्वलकृष्ण श्रेष्ठ, राप्रपाबाट हष्टबहादुर महर्जन, नेमकिपाबाट अशोक महर्जन उम्मेदवार छन्।
उपप्रमुखका लागि एमालेले मञ्जली शाक्य बज्राचार्य, नेकपा माओवादी केन्द्रले बाबुराज बज्राचार्य, राप्रपाले स्वर्णिमा शाक्य, नेमकिपाले ममिता श्रेष्ठलाई अघि सारेको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका महर्जन २४ हजार ६४२ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।