मतगणनामा खटिएका कर्मचारी नआएपछि विराटनगर महानगरको मतगणना दुई घन्टादेखि रोकिएको छ।
महानगरको वडा नं १ को गणनामा खटिएका गणक प्रकाश ढुंगाना सम्पर्कमा नआएपछि सो वडाको मत गणना रोकिएको हो।
दिउँसोको सिफ्टका गणक कर्मचारी बेलुका ८:२० मा परिर्वतन भएपछि गणक ढुंगाना ‘बेपत्ता’ भएका थिए। गणनामा खटिएका एक कर्मचारीका अनुसार ढुंगाना गणना गर्न नसक्ने भन्दै अन्य कर्मचारीलाई जानकारी गराएर हिँडेका हुन्। कर्मचारी नआउँदा मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले बताए।
बुढाथोकीका अनुसार ढुंगाना सम्पर्कमा नआएपछि मत गणना कार्य सुचारू गर्न अन्य कर्मचारीलाई बोलाइएको छ।