नेपाली कांग्रेसले आफ्नो गढ दाबी गर्ने मोरङमा यसपटक नेकपा एमालेले धेरै ठाउँमा सुरुआती अग्रता लिएको छ।
यसअघि कांग्रेसले जितेको उर्लाबारीमा यसपटक एमालेले अग्रता लिएको छ। हालसम्म गणना भएको ६०२ मध्ये एमाले २२१ मतका साथ अगाडि छ। प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसले १३० मत मात्रै पाएको छ ।
यस्तै यसअघि नेपाली कांग्रेसले जितेको लेटाङ नगरपालिकामा पनि प्रमुख पदमा नेकपा एमाले अगाडि छ। प्रारम्भीक मत परिणाम अनुसार एमालेको पक्षमा १०९ मत रहेको छ भने नेपाली कांग्रेसले ८० मत पाएको छ। लेटाङमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ।
मोरङको कानेपोखरी गाउँपालिकामा पनि नेकपा एमाले निकै अगाडि छ। निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार एमाले ८३६ मतका साथ पहिलो स्थानमा छ। यसैगरी नेपाली कांग्रेसले ५४६ मत पाएको छ। उक्त पालिकामा पनि यसअघि नेकपा एमालेले जितेको थियो।
बेलबारीमा पनि नेकपा एमाले अगाडि देखिएको छ। बेलबारीमा एमाले ३०१ मत ल्याएर अग्रस्थानमा रहँदा कांग्रेस १५७ मतका साथ एमालेलाई पछ्याइरहेको छ ।
मोरङको मिक्लाजुङमा भने गठबन्धन दलको तर्फबाट कांग्रेसका उम्मेद्वार अगाडि छन्। मिक्लाजुङमा कांग्रेसले ३११ मत ल्याउँदा एमालेले २६५ मतका साथ पछ्याइरहेको छ। मिक्लाजुङ र बेलबारी भने यसअघि एमालेले जितेको थियो।
यसैबीच यसअघि नेपाली कांग्रेसले जितेको मोरङको केराबारी गाउँपालिकामा पनि एमाले अगाडि देखिएको छ। एमालेलाई ५० मत प्राप्त भएको छ भने प्रतिस्पर्धी दल नेपाली कांग्रेसलाई ४५ मत प्राप्त भएको छ।
यस्तै मोरङको रंगेली नगरपालिकामा पनि एमाले अगाडि छ। एमालेले ४८७ मत ल्याउँदा कांग्रेसले ३९२ मत पाएको छ। यसअघि उक्त पालिमा नेकपा माओवादी केन्द्रले जितेको थियो।
मोरङकै धनपालथानमा पनि एमाले नै अगाडि देखिएको छ। एमालेले २६६ मत ल्याउँदा कांग्रेसले २४७ मत ल्याएको छ। त्यहाँ यसअघि नेपाली कांग्रेसले जितेको थियो ।
जहदा गाउँपालिकामा भने यस पटक नेपाली कांग्रेस अगाडि छ। २०७४ सालको निर्वाचनमा जसपाले जितेको उक्त पालिकामा कांग्रेस यो पटक २३७ मतका साथ अगाडि छ। दोस्रो स्थानमा भने नेकपा माओवादी रहेको छ। माओवादीले उक्त पालिकामा १२५ मतका साथ पछ्याइरहेको छ ।
कटहरी गाउँपालिकामा साविक विजेता कांग्रेसकै अग्रता देखिएको छ। कटहरीमा कांग्रेसले ३५४ मत ल्याउँदा एमालेले १८९ मतका साथ पछ्याइरहेको छ ।
यस्तै यसअघि एमालेले जितेको ग्रामथान गाउँपालिकामा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। कांग्रेसले ३१५ मत ल्याउँदा उक्त पालिकामा एमालेले १८१ मत ल्याएको छ।
यस्तै सुनवर्षी नगरपालिकामा साविक विजेता कांग्रेस नै अगाडि देखिएको छ। त्यहाँ कांग्रेसले २३८ मत ल्याउँदा एमालेले २२३ मत ल्याएर पछ्याइरहेको छ ।
बुढीगंगा गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ। कांग्रेसलाई ११६ मत प्राप्त हुँदा एमालेले उक्त पालिकामा ५० मतका साथ पछ्याउने कोशिस गरिरहेको छ ।
मोरङमा अहिलेपनि पथरीशनिश्चरे नगरपालिका, रतुवामाइ नगरपालिका र सुन्दरहरैंचा नगरपालिकाको भने प्रारम्भीक मत परिणाम आएको छैन। यी तीन पालिकामध्ये पथरी शनिश्चरे नगरपालिकामा विगतमा एमालेले जितेको थियो भने रतुवामाई र सुन्दरहरैंचामा कांग्रेसले जितेको थियो।
प्रदेशको एक मात्र महानगर विराटनगरमा गठबन्धनका तर्फबाट काँग्रेस अग्रता कायमै छ।