पोखरा महानगरको मतगणना बल्ल सुरू भएको छ। मतगणना तयारीका लागि शनिबार दिउँसो बसेको सर्वदलीय बैठकले २ बजेदेखि मतगणना शुरू गर्ने निर्णय गरे पनि ढिला गरी मतगणना थालिएको हो।
साना दलका प्रतिनिधि मतगणनामा आउन ढिलाई गरेकाले निर्धारित समयभन्दा ढिलो शुरू भएको निर्वाचन कार्यालयले जनाएको छ।
पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको सभाहलमा मत गणना थालिएको छ।
पोखरा महानगरको वडा नम्बर १, १२, र २३ को मत गणना थालिएको मुख्य निर्वाचन कार्यालयका अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए। उनका अनुसार मत गणना गर्न दुई ठाउँमा ६ वटा खाल बनाइएको छ।
देशकै ठूलो पोखरा महानगरमा नयाँ जनप्रतिनिधि चुन्न शुक्रबार भएको मतदानमा १ लाख ४३ हजार २१३ मत खसेको थियो।
पोखरामा कुल २ लाख ७ हजार मतदाता छन्। पोखराको मेयरमा सत्तारुढ गठबन्धनबाट धनराज आचार्य, उपमेयरमा कोपिला रानाभाट, नेकपा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार छन् भने स्वतन्त्रबाट मेयरमा गनेस पौडेल लगायत उम्मेदवार छन्।