उदयपुरको त्रियुगा नगरपालिकामा भोलि मात्रै मतगणना सुरू गरिने भएको छ। शुक्रबार वडा नम्बर १२ मा मतदान हुँदै गर्दा विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको थियो।
प्रमुख मुख्य निर्वाचन अधिकृत दिपक खनालले दिउँसो ४ बजे सर्वदलीय बठैक बोलाइएको बताउँदै आजै मतगणना सुरु गर्न नसकिने जानकारी दिए।
‘हिजोको विवाद अझै टुंगिएको छैन। दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाइएको छ। निर्वाचन आयोगको निर्णय पनि कुरिरहेका छौं। तर आजै मतगणा सुरु गर्न सकिने अवस्था छैन,’ उनले भने।
नेपाली कांग्रेसका दलीय प्रतिनिधिका अनुसार शुक्रबार वडा नम्बर १२ मा मतदान जारी हुँदा विवाद उब्जिएपछि मतदान नै स्थगित भएको थियो। अहिले कांग्रेसले उक्त वडामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ।
त्रियुगामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका वसन्त कुमार बस्नेत साझा उम्मेद्वार छन्। तर एकीकृत समाजवादीबाट बलदेव चौधरी पनि मेयरमा उठेका छन्। चौधरी यसअघि नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।
अहिले भने एमालेबाट भागवत राउत मेयरमा उठेका छन्। राप्रपाबाट भने हरिबहादुर राउत मेयरमा उठेका छन्।
त्रियुगामा कुल ६० हजार मतदाता रहेका छन्।