इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा विवाद उत्पन्न भएको छ।
मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।
मतगणनास्थलबाहिर झडपको अवस्था सिर्जना भएको हो।
गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन्।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइफायर गरेको थापाले बताए।
‘विवाद भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली चलाएको हो,’ उनले भने,‘प्रहरीहरू नै घाइते हुन थालेपछि हवाइफायर गरिएको हो। कति घाइते छन् अपडेट आइसकेको छैन।’
उनका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ। छलफल पछि मतगणना सुरू गरिने उनले बताए।