घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ।
आज बिहान १०:३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
उक्त महानगरपालिकाको वडा नम्बर १४ र १९ बाट मतगणना सुरु गरिएको हो। उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको छ।
साथै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन्।
उनकाअनुसार जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ। बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो।
एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन्।
बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए।