शुक्रबार भएको स्थानीय तह निर्वाचनमा पहिलो नतिजा गण्डकी प्रदेशको मनाङ जिल्लाबाट आएको छ।
शुक्रबार राति २ बजेतिर मनाङका दुई गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो। तीमध्ये चामे गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी भएका छन्। उनी यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार घलेले ३२० मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार छिरिङध्वर्जे लामाले २७९ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी एमाले उम्मेदवार आशकुमारी गुरूङले २७४ मत ल्याइन्।
अर्कातिर मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १ सय ५८ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन्।
कोन्जो तेन्जिङ यसअघि पनि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष थिए। उनी २०७४ को निर्वाचनमा निर्विरोध निर्वाचित भएका थिए।