भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरू हुने भएको छ।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा बसेको सर्वदलीय बैठकले बिहान मात्रै गणना सुरू गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए।
एमालेले मतगणनास्थलमा राखिएका सिसिटिभी, स्क्रिन र अन्य सुरक्षा सावधानीका विषयमा आशंका गरेपछि मतगणना अहिले सुरू हुन नसकेको हो।
चितवनको कालिका, खैरहनी र माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाको भने मतगणना सुरू भएको छ।
भरतपुर महानगरपालिकामा ६७.५९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले धेरै समूह बनाएर गणना गरिने बताएका छन्। बढीमा एक साताभित्र मतगणना सक्नेगरी तयारी भइरहेको उनले बताए।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी मेयर पदको उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीहरूबाहेक मेयरमा दुई दर्जन उम्मेदवार छन्।