काठमाडौं महानगरपालिकामा मतगणना सुरू गर्न जारी सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मात्र मत गन्न सुरू गरिने भएको छ।
राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातबाट सुरू सर्वदलीय बैठकमा यसबारे सहमति भएको त्यहाँ उपस्थित एक प्रतिनिधिले जानकारी दिए।
अहिलेसम्मको छलफलअनुसार पहिलो चरणमा वडा नम्बर १ बाट ५ सम्मको मतगणना गरिनेछ। त्यसपछि क्रमैसँग थप वडाहरूको मत गन्न थालिनेछ।
यसअघि राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो प्रतिनिधि टुंगो गर्न नसक्दा सर्वदलीय बैठक बस्न सकेको थिएन।
यसबीच मतगणनामा सबै स्वतन्त्र उम्मेदवारहरूले आफ्नो प्रतिनिधि राख्न नपाउने भएपछि काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आपत्ति जनाएका छन्। उनका सहयोगी कुमार व्यञ्जनकारले आफ्नो तर्फबाट पनि प्रतिनिधि राख्न पाउनुपर्ने माग गरेका छन्।
'पाँच जना स्वतन्त्र उम्मेदवार बराबर हामी एक जना प्रतिनिधि राख्छौं भनेर उहाँहरूले भन्नुभएको छ,' व्यञ्जनकारले सेतोपाटीसँग भने, 'हामीले पनि एक जना उम्मेदवार बराबर एक जना प्रतिनिधि राख्न पाउनुपर्छ।'
मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले भने स्वतन्त्रका तर्फबाट धेरै प्रतिनिधि राख्न सकिने अवस्था नरहेको बताए।
'हामीलाई आयोगबाट आएको परिपत्रमा मतगणनाका दौरान स्वतन्त्र उम्मेदवारहरूका तर्फबाट बढीमा पाँच जना राख्ने व्यवस्था गर्नू भनिएको छ,' खतिवडाले भने, 'सबै स्वतन्त्र उम्मेदवार जम्मा भएर आफैं सहमति गरी पाँच जना एकपटक र अर्कोपटक अर्को पाँच जना बस्ने गर्ने प्रबन्ध मिलाउन भनिएको छ।'
उनले बालेनका तर्फबाट स्वतन्त्र उम्मेदवारहरूबीच सहमति जुटाउन सके सधैं बस्ने व्यवस्था मिलाउन सकिने बताए।