चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ।
शुक्रबार रातिबाटै मतगणना सुरू गर्ने भनी मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक डाकेका हुन्। भरतपुर महानगरपालिकामा ६७.५९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको छ।
कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले धेरै समूह बनाएर गणना गरिने बताएका छन्। बढीमा एक साताभित्र मतगणना सक्नेगरी तयारी भइरहेको उनले बताए।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी मेयर पदको उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीहरूबाहेक मेयरमा दुई दर्जन उम्मेदवार छन्।