तनहुँको व्यास नगरपालिका–८ रिस्तीको मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुन मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनी दिइएको छ।
नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र नेकपा एमालेले तालमेल गरेर व्यास नगरपालिकामा स्थानीय तहको निर्वाचन लडेका छन्।
नेकपा एमालेको जिल्ला सचिव राजेश्वर ढकाल र जोशी समूहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति निकाल्दै पुनः मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रको मतपेटिकाको मतगणनामा समेत सहभागी नहुने चेतावनी दिएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार मतदान निरीक्षणको क्रममा रिस्ती पुगेका मेयरका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीका छोरा दीपकराजलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन्। उनको टाउकोमा चोट लागेको छ। जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चत पोखरास्थित फिस्टेल अस्पतालमा लगेर थप उपचार भइरहेको पनि बताइएको छ।