शुक्रबार दिउँसो मतदानका बेला झडप भएपछि बाजुराका दुई स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ।
बूढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्बर वडा र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हाे।
जिल्ला प्रशासन कार्यालयका अनुसार तनावग्रस्त रहेका मतदान केन्द्र रहेका वडाहरूमा धनजनको क्षति हुनसक्ने भन्दै कर्फ्यु आदेश जारी गरिएको हाे।
मतदान क्रममा यी वडाहरूमा कांग्रेस र एमालेका कार्यकर्ताबीच दिनभर झडप हुँदा कयौं मानिस घाइते भएका छन्।
बुढीगंगामा यी वडाहरूमा मतदान कार्य पनि स्थगित भएको छ। पुनः मतदान हुने विषयमा केही निष्कर्ष भएको छैन ।