ललितपुर महानगरपालिकामा शनिबार बिहान ७ बजे बैठक सुरू गरेर ८ बजे मतगणना गर्ने निर्णय भएको छ। उम्मेदवार र कर्मचारी सबै थाकेकाले भोलि मतगणना सुरू गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए।
महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ। महानगरमा एक लाख २२ हजार ८९० मतदाता छन्।
गोदावरी नगरपालिकामा मतपेटिका आउन अझै बाँकी छ। वडा नं ८ र ९ बाट मतपेटिका आउन बाँकी रहेको र त्यो आएपछि नै सर्वदलीय बैठक बसेर मतगणना आजै सुरू गर्ने वा भोलि गर्ने भनी टुंगो लाग्ने निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन्। नगरपालिकामा ५४ हजार ३९९ जना मतदाता छन्।
महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० मत खसेको छ। यो ७७.९६ प्रतिशत हो। अझै दुई टाढा रहेका वडाबाट मतपेटिका आउन बाँकी छ। त्यहाँबाट आएपछि मात्रै मतगणना कहिले हुने भनी निर्णय हुने निर्वाचन अधिकृत सुशिला ज्ञवालीले जानकारी दिइन्।
बागमती गाउँपालिकामा जम्मा मतदाता १२ हजार ३२८ मध्ये नौ हजार ६१७ ले मत हालेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए। यहाँ जम्मा ७८.०१ प्रतिशत खसेको छ। यहाँका १७ मध्ये पाँच मतदानस्थलमध्ये मात्रै मतपेटिका आइपुगेको छ। सबै मतपेटिका आइपुगेपछि मतगणना सुरू हुने उनले जानकारी दिए।
कोञ्ज्योसोम गाउँपालिकामा ७५.५४ प्रतिशत मत खसेको छ। आज नै मतपेटिका आएपछि सर्वदलीय बैठक हुने निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिइन्। मतगणना आज सुरू गर्ने तयारी रहेको उनले बताइन्।गाउँपालिकामा आठ हजार ५८८ मतदाता छन्।
जिल्लामा कुल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन्। पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक छन्।