निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ।
आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गर्दै यो संख्या बढ्न सक्ने जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए।
उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले यसमा बढोत्तरी हुनसक्ने बताउ। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताए।
उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताए।
उनले अहिलेसम्मको तथ्यांकअनुसार २८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको बताए।
‘आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले विश्वास लिएको छ। आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही ठाउँहरुमा अप्रिय घटनाहरु पनि भए । यसको कारणले आज सबै तहको स्थानीय निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाकाबाबजुद अहिलेसम्म १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको अवस्था छ’,प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरू, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए।
‘प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएका जिल्लाहरुमा भोलि नै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । शान्तिपूर्ण रुपमा मतदान भएको स्थानबाट अहिले सबै मतपेटिका सील गरेर सम्बन्धित प्रतिनिधिहरुसहित क्रमशः निर्वाचन अधिकृतको कार्यालयतिर ढुवानी गर्ने प्रक्रिया प्रारम्भ भएको छ भने केही ठाउँमा मतदान जारी रहेको छ।’
राजनीतिक दल राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद सानो विषयमा पनि झाँगिदै जाने र अन्ततो गत्वा त्यसले उग्ररुप लिएको स्थितिका कारण केही ठाउँहरुको प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था र अलिकति आज मौसमको प्रतिकुलताका कारण केही स्थानीय तहमा सबै मतदाताहरुले सहभागी हुन नसकेको उनले बताए।
स्थगित भएका ठाउँमा चाँडै पुन मतदान सुरू हुने थपलियाले बताए।
‘स्थगन गरेका मतदान केन्द्रमा हामीले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा हामी छिटै पुनः मतदानको प्रारम्भ गर्नेगरी आवश्यक तयारी गरिरहेका छौं’, उनले भने।
‘आज यसबेलासम्म ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। यसमा बढोत्तरी पनि हुनेछ। निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ’, उनले भने, ‘काठमाडौं महानगरपालिकाको मतदानको स्थिति शान्तिपूर्ण र सहज हुँदा हुँदै पनि ५२ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ। यो सन्तोषजनक छैन।’