स्थानीय तहको निर्वाचन अन्तर्गत आज कर्णाली प्रदेशका पाँच वटा मतदान केन्द्रमा मतदान पूरा हुन सकेको छैन। हुम्लाका दुई वटा र सुर्खेतको एउटा मतदान केन्द्रमा बीचमै मतदान स्थगित गर्नुपरेको छ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार सर्केगाड गाउँपालिका–७ को कोट मावि रोडीकोट मतदान केन्द्रमा दलका कार्यकर्ताबीच लफडा भएपछि मतदान स्थगित भएको छ।
खार्पुनाथ गाउँपालिकाको मालिका मावि लाली मतदान केन्द्रमा ढुंगामुढा भएपछि दिउँसोदेखि नै मतदान स्थगित भएको छ।
यस्तै, हुम्लाको चंखेली गाउँपालिका–६ मा रहेको हिमालय मावि मतदान केन्द्रबाट मतपेटिका ल्याउँदै गर्दा मतपेटिका ल्याउने टोलीमाथि नै आक्रमण भएको छ।
जुम्लाकाे गुठीचौर गाउँपालिका-३ मा रहेको शंखर माविमा पनि मतदान स्थगित भएको छ। दलका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको हो।
दैलेखको ठाँटीकाँध गाउँपालिका-३ मा रहेको नेरा मावि मतदान केन्द्रमा पनि मतदान स्थगित भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाटोमा हिँडिरहेको टोलीमाथि माथिबाट ढुंगा खसालिएको थियो।
सुर्खेतको सिम्ता गाउँपालिका–१ खनेटामा रहेको भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि दिउँसो २ बजेबाट मतदान स्थगित भएको छ।
निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र पाइएको भन्दै दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको हो।
स्थगित भएका मतदान केन्द्रमा पुनः मतदान कहिले गर्ने भन्ने निर्णय भइसकेको छैन।