काठमाडौं महानगरपालिकाको मत गणना राष्ट्रिय सभा गृहमा आजै हुने भएको छ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटीका ल्याउने क्रम अझै जारी रहेको र सबै मतपेटिका आइसकेपछि आजै गणनाको काम सुरू हुनेछ।
सुरक्षा संवेदनशीलतालाई हेरेर मतगणनास्थलमा तार जाली लगाइएको छ।
काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइएको हो। सबै मतपेटीका आइसकेपछि सर्वदलीय बैठक बसेपछि मतगणनाको प्रक्रिया सुरु हुनेछ। एकसाथ पाँच वडाबाट गणना सुरू गर्ने तयारी रहेको खतिवडाले जानकारी दिए।
राष्ट्रिय सभागृहको मतगणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ।
यसैगरी आमसञ्चारकर्मीको रिपोर्टिङ सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्न मिल्ने व्यवस्था मिलाइएको छ।