सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा मतदान कार्य स्थगित भएको छ।
सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले दिएकाे जानकारी अनुसार विवादपछि झडप हुँदा बाजुरामा एक, बझाङमा तीन र कञ्चनपुरको एक ठाउँमा मतदान कार्य स्थगित भएको हाे।
मतदान स्थगित भएको यी ठाउँमा पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा नक्कली मतदाता आएको भन्दै मतदान प्रक्रिया स्थगित भएको हाे।
केही नेताले मत हाल्न पाउने भनी फर्जी मतदातालाई पठाएपछि विवाद भएको थियो।
राजनीतिक दलको बैठक जारी रहेकोले सहमतिपश्चात् मतदान सुरू हुनेछ।
यस्तै, बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपल चौर मावि सुवेडा, केदारस्युँ गाउँपालिका- ४ स्थित जगन्नाथ मावि सैन्सु र मष्टा गाउँपालिका ५ स्थित द्वारिकानाथ माध्यमिक विद्यालयमा पनि मतदान स्थगित भएको छ।
यस्तै, बाजुरामा पनि विवादपछि पाण्डुसैन र बुढीगंगा लगायतका ठाउँमा झडप हुँदा मतदान कार्य स्थगित भएको हाे।
प्रदेशका अन्य ठाउँमा भने शान्तिपूर्ण तरिकाले मतदान भएको छ। अहिले मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा पुर्याउने काम भइरहेको छ।