पोखरा महानगरको मतगणना भोलि थालिने भएको छ।
महानगरमा रहेका २४२ मतदान केन्द्रबाट मतपेटिका ल्याउन ढिलाइ हुने भएकाले शनिबारदेखि मतगणना सुरू गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत निलप्रसाद पनेरूले जानकारी दिए।
‘पोखरामा ठूलो पानी परिरहेको छ, ग्रामीण क्षेत्रबाट मतपेटिका ल्याउन समस्या देखिएको छ,’ उनले भने, ‘मध्यरातसम्म मतपेटिका आइसक्छ, भोलि बिहान सर्वदलीय बैठक राखेर मतगणना सुरू गर्छौं।’
पोखरा महानगरको मतगणनाका लागि ८ देखि १० ठाउँ बनाइएको पनेरूले बताए।
मतगणना छिटो छरितो गर्न धेरै ठाउँमा मतगणना गर्ने तयारी गरेको उनको भनाइ छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिको कार्यालय र जिल्ला समन्वय समितिको हलमा मतपेटिका संकलन र मतगणना स्थल बनाएको छ।
मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली लगाउनुका साथै सिसिटिभी क्यामेरा जडान गरेको पनेरूले जानकारी दिए।