प्रदेश १ को एकमात्र महानगर विराटनगरको मतगणना ढिला सुरू हुने भएको छ।
अहिले पनि महानगरका केही स्थानमा मतदान जारी रहेका कारण गणना आजै थाल्ने कि नथाल्ने टुंगो नभएको निर्वाचन कार्यालयले जनाएको छ।
विराटनगरमा तीन मतदान केन्द्रमा अहिले पनि मतदान भइरहेको छ।
निर्वाचन आयोगले ५ बजेसम्म मतदानको समय तोकेको भए पनि सो समयभित्र मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ।
विराटनगरको हाटखोला, पुसेट कलेजलगायतको स्थानमा अहिले पनि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। यस्तै, सुन्दरहैरचाका केही मतदान स्थलहरूमा मतदान भइरहेको छ।
मतदान स्थलभित्र पसेका मतदाताले मतदान सक्दा ९ बज्ने अनुमान रहेको निर्वाचन कार्यालय मोरङले जनाएको छ।
जारी मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउँदा कम्तीमा ११ बज्ने देखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए।
‘केराबारीको उत्तरी क्षेत्रमा भएको मतदान स्थलबाट मतदान भएको मतपेटिका सडकको कारणले धनकुटा हुँदै ल्याउनुपर्ने छ’ उनले भने, ‘त्यही भएर समय लाग्छ।’
विराटनगरका मतदान सकिएका ठाउँहरूबाट भने मतपेटिका संकलन धमाधम भइरहेको छ।
विराटनगर- ७ स्थित आदर्श माध्यमिक विद्यालयमा मतपेटिका संकलन गरिएको हो।
महानगरको गणना यही विद्यालयमा हुनेछ।