सप्तरीको डाक्नेश्वर नगरपालिकास्थित मतदानस्थलमा तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएको छ।
वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलका मतदान अधिकृत विपिन यादवमाथि आक्रमण भएको हो।
राजविराजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृतमाथि आक्रमण र तोडफोड गरेको सप्तरीका एसपी आदि नारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार ती समूहले मतपेटिका तोडफोडका साथै केही मतपत्र समेत छरपस्ट पारिदिएका थिए।
भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेको थियो। घटनापछि मतदान स्थगित भएको छ।
पुनः मतदानका लागि तयारी भइरहेको एसपी काफ्लेले बताए।