आज बिहान सात बजेदेखि सुरू भएको स्थानीय तह निर्वाचनमा दिउँसो साढे १ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार छुटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार दोलखा, रामेछाप, सर्लाही, पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवाद भएकाले मतदान स्थगित भएको छ।
शान्तिपूर्ण रूपमा मतदान भइरहे पनि केही स्थानमा भने झडपका घटनाहरू भएका छन्। केही स्थानमा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ। केही स्थानमा सेनाले स्थिति नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार देशका विभिन्न २ दर्जन स्थानमा झडपका घटना भएका छन्। करिब १ दर्जन ठाउँमा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ। केही स्थानमा मतदान प्रक्रिया सुरू भइसकेको छ भने केहीमा रोकिएको छ।
कहाँ कहाँ झडप
• हुम्लाको अदानचुली, तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्र र चंखेली
• ओखलढुंगा चम्पादेवी गाउँपालिका–९ को मतदान केन्द्रमा
• रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि र खाँडादेवी गाउँपालिकास्थित वडा नम्बर १
• गोरखाको घ्याल्चोक
• सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्र र कौडन्या
• बाजुराको बुढीनन्दा नगरपालिका
• दैलेखको ठाटीकाँध
• काभ्रेको चौरी देउराली–६
• बाराको पचरौती– २
• सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्र
• बाराको देवताल गाउँपालिका
• ओखलढुङ्गाको चम्पादेवी
• दोलखाको वैतेश्वर गाउँपालिकास्थित कालिढुंगा र मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्र
• मोरङको लेटाङ