प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।
शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका हुन्।
स्थानीय तहको निर्वाचनपछि सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेकाे दाबी गरे। उनले स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण भएको भन्दै निर्वाचन विरोधी समूह पनि सहभागी भएको बताए।
एक फरक प्रशंगमा कांग्रेस सभापतिसमेत रहेका देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएकाे जिकिर गरे। ‘गठबन्धन गरेर कांग्रेस कमजाेर भएकाे छैन, बरू झन बलियो भएको छ’, उनले भने।
कांग्रेस नेतृत्वकाे सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेकाे छ ।
प्रधानमन्त्री देउवा शुक्रबार मतदानका लागि धनगढीबाट हेलीकोप्टरमार्फत् गृह जिल्ला डडेल्धुरा पुगेका हुन्।
उनले बिहान ९ बजेर ५५ मिनेटमा मत खसालेका थिए। मतदानपछि देउवा आजै काठमाडौं जाने तालिका छ।