मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरी नियन्त्रणमा परेका वडाध्यक्ष उम्मेदवारलाई आफन्तको जिम्मामा छुटेका छन्।
नेकपा एमालेबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन बिसीलाई बुधवार राति प्रहरीले नियन्त्रणमा लिएको थियो।
बिसीले मतदातालाई पैसा बाँडेको सूचना आएपछि एक लाख एक हजार रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई शुक्रबार दिउँसो आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
‘नियन्त्रणमा लिएका उम्मेदवारलाई आफन्तको जिम्मा लगाइसकेको छ। उहाँलाई भोलि हामीले बोलाएको बेला उपस्थित हुनुपर्छ। थप अनुसन्धान पनि जारी छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले सेतोपाटीसँग भने।
शुक्रबार राति बिसी गुर्भाकोट–११ स्थित एक गाउँको मतदाताको घरमा पुगेका थिए।
पैसा बाँडेको सूचनाका आधारमा गएको प्रहरी टोलीले बिसी पुगेको घरमा खानतलासी गर्दा एक लाख एक हजार रुपैयाँ नगद समेत फेला परेको थियो।