स्थानीय तह निर्वाचन सुरू हुन केही घण्टामात्रै बाँकी छ।
शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनको लागि सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारसँगै आफ्ना एजेण्डाहरू मतदातासामु पुर्याएर दुई दिन यता मौन अवधिको पालना गरिरहेका छन्।
लुम्बिनी प्रदेशको १ सय ९ वटा पालिकाको निर्वाचनको लागि ३२ लाख बढी मतदाता निर्वाचनमा सहभागी हुँदैछन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार वैशाख २९ गतेभित्र १८ वर्ष पूरा भएका ३२ लाख १९ हजार ४ सय ५७ जना मतदाताले निर्वाचनमा मतदान गर्न पाउने छन्।
कुल मतदातामध्ये १६ लाख १८ हजार ७३ जना पुरूष, १६ लाख १ हजार ३ सय ५२ जना महिला र अन्य मतदाताको संख्या ३२ जना रहेको छ।
२०७४ सालमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २७ लाख ४० हजार ८ सय ४८ मतदाता रहेका थिए। लुम्बिनी प्रदेशमा १ हजार ६ सय २९ वटा मतदान स्थल र ३ हजार ८ सय ३२ वटा मतदान केन्द्रबाट मतदान हुँदैछ।
लुम्बिनी प्रदेशमा सबभन्दा धेरै रूपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० जना मतदाताले मतदानमा भाग लिँदैछन्। तीमध्ये ३ लाख २३ हजार ७ सय ७८ जना पुरूष, ३ लाख ८ हजार ५ सय ७४ जना महिला र आठ जना अन्य मतदाता रहेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए। रूपन्देहीमा २ सय ८ मतदान स्थलमा ७ सय मतदान केन्द्र तोकिएको छ।
रूपन्देहीपछि धेरै मतदाता दाङ जिल्लामा रहेका छन्। दाङबाट २ लाख ७ सय ९९ पुरूष, २ लाख ९ हजार ९९ महिला र दुई जना अन्य गरी ४ लाख ९ हजार ९ सय मतदाता निर्वाचनमा भाग लिँदैछन्।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार दाङमा मतदानका लागि १ सय ५३ मतदानस्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको छ।
यस्तै, बाँके जिल्लामा ३ लाख २९ हजार ४ सय ७३ र बर्दियामा ३ लाख ११ हजार ४ सय १० जनाले मतदान गर्दैछन्। बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार जिल्लामा १ लाख ६७ हजार ३ सय ४९ पुरूष, १ लाख ६२ हजार १ सय १७ जना महिला र सात जना अन्य मतदाताका लागि १ सय ३६ मतदानस्थल र ३ सय ७९ मतदान केन्द्र तोकिएको छ।
२ सय ३५ मतदान स्थल र ४ सय ६८ मतदान केन्द्र रहेको कपिलवस्तुमा ३ लाख ७३ हजार १ सय जनाले मतदान गर्दैछन्। कपिलवस्तुमा १ लाख ९९ हजार २ सय ८७ जना पुरूष, १ लाख ७३ हजार ८ सय ११ जना महिला र दुई जना अन्य मतदाता रहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए।
यस्तै, बर्दियामा १ सय ५३ मतदानस्थल र ३ सय ७१ मतदान केन्द्रबाट ३ लाख ११ हजार ४ सय १० जनाले मतदान गर्दैछन्। मुख्य निर्वाचन अधिकृत लोकजंग शाहका अनुसार बर्दियामा १ लाख ५२ हजार ७ सय ४२ पुरूष, १ लाख ५८ हजार ६ सय ६२ जना महिला र ६ जना अन्य मतदाता रहेका छन्।
उता नवलपरासी पश्चिममा पनि २ लाख ३७ हजार १ सय २५ जना मतदानमा भाग लिँदैछन्। १ लाख १९ हजार ७ सय ७५ जना पुरूष, १ लाख १७ हजार ३ सय ४६ जना महिला र चार जना अन्य मतदाता रहेको नवलपरासीमा १ सय २१ मतदानस्थल र २ सय ८३ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए।
यस्तै, गुल्मीमा १ लाख १० हजार ५९ जना पुरूष, १ लाख १४ हजार २ सय १५ जना महिला र दुई जना अन्य गरी २ लाख २४ हजार २ सय ७६ जना मतदाताले मतदान गर्दैछन्। मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार गुल्मीमा मतदानका लागि १ सय ४२ मतदान स्थल र २ सय ७९ मतदान केन्द्र तोकिएको छ।
पाल्पामा १ लाख ९९ हजार ६ सय ६० जना मतदाता रहेका छन्। तीमध्ये ९६ हजार ६ सय ८० जना पुरुष र १ लाख ३ हजार १० जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले जानकारी दिए। पाल्पामा मतदानका लागि १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र तोकिएको छ।
अर्घाखाँचीमा ९६ मतदान स्थल र २ सय २ मतदान केन्द्रबाट १ लाख ६३ हजार ८ सय १५ मतदाताले मतदान गर्दैछन्। तीमध्ये ८१ हजार ४ सय ४९ जना पुरुष र ८२ हजार ३ सय ६६ जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन्।
यस्तै प्यूठानमा ७७ हजार ३ सय २७ पुरूष, ८२ हजार १८ महिला र एकजना अन्य गरी १ लाख ५९ हजार ३ सय ४६ जनाले मतदान गर्दै छन्। मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार प्यूठानमा १ सय ५१ मतदान स्थल र २ सय २० मतदान केन्द्र तोकिएको छ।
रोल्पामा पनि ८१ मतदान स्थल र १ सय ७३ मतदान केन्द्रबाट १ लाख ४५ हजार ४ सय ४४ जनाले निर्वाचनमा भाग लिँदैछन्। रोल्पामा ७१ हजार ९ सय ३४ पुरूष र ७३ हजार ५ सय १० महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले बताए।
लुम्बिनी प्रदेशमा सबभन्दा थोरै रूकुम पूर्वमा १६ हजार ८ सय ९४ जना पुरूष र १६ हजार ६ सय २४ जना महिला गरी ३३ हजार ५ सय १८ जना मतदाता रहेका छन्। जिल्लामा ३५ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए।