निर्वाचन आयोग नेपालले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेको छ।
बिहीबार बसेको आयोगको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेका हुन्।
उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिए।
प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रबन्ध मिलाई सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको बताए।
प्रमुख आयुक्त थपलियाले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभ, लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्न म सबै मतदाता महानुभावहरूप्रति हार्दिक आह्वान गर्दछु।’
निर्वाचनका सबै तयारी पूरा भइसकेको भन्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।
‘मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाइएको र सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ, कुनै पनि मतदाता मतदानको अधिकारबाट बञ्चित नहून् भन्ने उद्देश्यले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कली प्रमाणपत्रमध्ये कुनै एकको माध्यमबाट भोट हाल्न पाउने व्यवस्था गरिएको छ।’
प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गरे।