प्रदेश १ का १३७ वटै स्थानीय तहमा रहेका ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदानस्थलमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि १९ हजार कर्मचारी मतदानस्थलमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
मतपत्र, स्वस्तिक छापलगायत सबै सामग्री जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत् पालिकाका मतदान केन्द्रमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए।
प्रदेश १ मा कुल ३३ लाख ४७ हजार ३८४ जना मतदाता छन्। एउटा महानगर, २ उपमहानगर ४६ नगरपालिका र ८८ गाउँपालिका रहेको प्रदेश १ मा कुल १ हजार ५७ वडा छन्। स्थानीय तहको निर्वाचनबाट प्रदेशभरी ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्।
प्रदेश १ मा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन्। आवश्यक सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ।
निर्वाचनको पहिलो घेरामा रहने नेपाली प्रहरीको संख्या १० हजार ५५१ जना प्रहरी मैदानमा खटिएका छन्। नेपाल प्रहरीबाहेक निर्वाचनका लागि थप १७ हजार ३८२ म्यादी प्रहरी पनि परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
नेपाल प्रहरी र म्यादी प्रहरीको टोली सबै मतदान केन्द्र र मतदानस्थलमा परिचालित भइरहेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले बताए।
प्रदेशका ३२१ मतदानस्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषणका आधारमा त्यहाँ थप सुरक्षा तैनाथी गरिएको छ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ। सो वर्गीकरणको आधारमा अनुसार प्रदेशभरी रहेका कुल ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिए।
प्रदेशमा ८४९ वटा संवेदनशील र ७०७ वटा सामान्य मतदानस्थल छन्। अति संवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गरिनेछ। ३ प्रहरी ८ म्यादी मतदानस्थलभित्र रहन्छन्। बाहिरी घेरामा ४५ जना सुरक्षा कर्मचारी परिचालन हुनेछन्।
प्रहरीसँग बाहिरी घेरामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि रहनेछ भने हरेक मतदानस्थलमा १५ देखि २० मिनेटमा पुग्ने गरी थप सुरक्षाकर्मीको टोली रहनेछ।