शुक्रबार बिहानैदेखि सुरू हुने स्थानीय तह निर्वाचनका लागि रूपन्देहीमा सम्पूर्ण तयारी पूरा भएको छ।
१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको रूपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० जना मतदाताले निर्वाचनमा भाग लिँदैछन्।
जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीका अनुसार ३ लाख ८ हजार ५ सय ७४ महिला, ३ लाख २३ हजार ७ सय ७८ जना पुरूष र ८ जना अन्य मतदाता छन्।
निर्वाचनका लागि कुल २ सय ८ मतदान स्थलमा ७ सय मतदान केन्द्रहरू तयार गरिएको छ। मतदान केन्द्रहरूको सुरक्षाको लागि बाँस र डोरीले बारेर सुरक्षित पारिएको निर्वाचन कार्यालयले जनाएको छ।
मतदाताहरूका सहजताको लागि मतदान केन्द्रहरूमा महिला र पुरूषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तहरूलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ।
बिहान ७ बजेदेखि सुरू हुने मतदान कार्य अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।
मतदान कार्यमा कुनै घटना हुन नदिन ३ तहको सुरक्षा घेरा बनाई सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले म्यादी प्रहरीसहित ३ हजार ८ सय प्रहरीलाई मतदान केन्द्रको भित्री भागको सुरक्षामा खटाइने जानकारी दिए।
रेग्मीका अनुसार निर्वाचनका लागि २ हजार ४ सय म्यादी प्रहरी, एक हजार ४ सय नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ।
त्यस्तै, मतदान स्थलको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने छ भने त्यसपछि नेपाली सेना खटिने छ। जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षा गस्ती दिनेछ।
मतदानस्थलसँगै मतगणना स्थलको व्यवस्थापन पनि भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।
हरेक पालिकाको मतगणनाको लागि आफ्नै पालिकाभित्रका निर्वाचन कार्यालय व्यवस्थापन गरिएको छ।
मतगणनास्थलमा राजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ताहरूबाट कुनै प्रकारको हस्तक्षेप हुन नदिन मतगणनास्थललाई तारबारले घेरिएको छ भने निगरानीको लागि सिसिटिभी जडान गरिएका छन्।
निर्वाचन कार्यालयले रूपन्देहीमा रहेका १ सय २८ मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ। तीमध्ये ६२ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखी सोही अनुसार सुरक्षा व्यवस्थापन गरिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।
७८ मतदानस्थल भने सुरक्षाको हिसाबले सामान्य सूचीमा रहेका छन्।
रूपन्देहीका १६ वटा पालिकामा सबै पदमा गरी ३८ वटा राजनीतिक दलका ५ हजार बढीको उम्मेदवारी परेको छ। तीमध्ये सबै पदमा गरी ८ सय ७ जना जनप्रतिनिधि चुनिने छन्।