निर्वाचनको मौन अवधिमा मतदातालाई पैसा बाँडिरहेको अवस्थामा सिरहाबाट माओवादीका एक जना स्थानीय नेता पक्राउ परेका छन्।
बुधबार दिउँसो गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदाताको घरमा पुगेर पैसा बाँडेको आरोपमा माओवादीका नेता प्रेमकुमार लामालाई नेकपा एमालेका कार्यकर्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।
प्रहरीका अनुसार लामा स्थानीय भुला महतोको घरमा पैसा दिन पुगेका थिए।
लामाले पैसा बाँड्न गएको एमाले कार्यकर्ताले थाहा पाएपछि उनलाई घेरेका थिए। एमाले कार्यकर्ताले नै इलाका प्रहरी कार्यालय गोलबजारलाई बोलाएर प्रहरीको जिम्मा लगाएको थियो।
उनको साथबाट नौ हजार रूपैयाँ र नमूना मतपत्र बरामद भएको एक प्रहरी अधिकारीले बताए।
‘खानतलासी गर्दा उनको साथबाट पैसा बरामद भयो। प्रारम्भिक अनुसन्धानको क्रममा उनी पैसा बाँड्नै गएको खुलेको छ,’ ती प्रहरी अधिकारीले भने।