नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नाम र तस्बिर प्रयोग गरी नक्कली खाता खोलिएको बताएका छन्।
उक्त खाताबाट स्थानीय चुनावका सन्दर्भमा गलत सूचना सम्प्रेषण भइरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।
‘मेरो आधिकारिक ट्विटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै कुलमानले भनेका छन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रूपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनुहुन पनि उनले अनुरोध गरेका छन्।
यसअघि मंगलबार कुलमानको नाम र तस्बिर भएको एउटा ट्विटर ह्यान्डलबाट काठमाडौंका एक उम्मेदवारको पक्षमा भोट मागिएको थियो। कुलमानको उक्त नक्कली ह्यान्डललाई १७ हजार बढी मानिसले फलो गरेका छन्।