दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। चौधरी नेकपा एमालेका उम्मेदवार थिए।
नयाँ निर्वाचन तालिकाअनुसार एमालेका लागि मात्रै बुधबार बिहान दस बजेदेखि एक बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार बिहीबार बेलुका पाँच बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।
निर्वाचन अधिकृत अर्यालका अनुसार वैशाख ३१ गतेदेखि मौन अवधि सुरू हुने छ।
'तुलसीपुर – १७ को हकमा वैशाख ३१ गते मध्य रातिसम्म प्रचारप्रसार गर्न पाइने छ र त्यसपछि मौन अवधि सुरू हुने छ,' अर्यालले भने, 'जेठ ३ गते मतदानको समय तोकिएको छ।’
नेकपा एमाले उम्मेदवारको मृत्यु भएको हुँदा एमालेको हकमा मात्रै यो नियम लागू हुने छ।
निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरको सरकारी वकिलको कार्यालयमा आएर मनोनयन दर्ता लगायत कार्यक्रम हुने छन्।
स्रोतका अनुसार नेकपा एमालेका महासचिव शंकर पोखरेलको सिफारिसमा एमालेले बुधबार नयाँ उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ। तुलसीपुर पोखरेलको गृहनगर हो।
निधन भएका वडाध्यक्ष उम्मेदवार चौधरी शिक्षण पेसामा आबद्ध थिए। उनको रोगका कारण निधन भएको बताइएको छ। स्रोतका अनुसार एमालेले वडाध्यक्षका नयाँ उम्मेदवारका रूपमा चौधरीकै कान्छा छोरा प्रदीप चौधरीको नाम सिफारिस गर्ने सम्भावना छ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन भए पनि तुलसीपुर उपमहानगरपालिकामा जेठ ३ गते स्थानीय तहको निर्वाचन वडा नं. १७ मा पूरा भएपछि मात्रै मतगणना हुने भएको छ।