पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताएकी छन्।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाले मंगलबार आयोजना गरेको चुनावी सभामा उनले काठमाडौंको विकासका लागि आफूले ठूला सपना नबाँडेको बताएकी हुन्। उनले आफूले अगाडि सारेको संकल्प पत्रअनुसार काम गर्ने उल्लेख गरिन्।
'स्वच्छ, सफा र हराभरा महानगर निर्माण गर्न म काठमाडौंवासीको अभिभावक बन्न चाहन्छु। काठमाडौंलाई महान घर बनाउन चाहन्छु,' उनले भनिन्।
उनले २५ वर्ष पहिलेका प्रमुख पिएल सिंहले सारेको परिकल्पनालाई पूरा गर्ने विश्वाससमेत व्यक्त गरिन्।
सिंहले काठमाडौंभित्रको खाल्डाखुल्डी र धुलोधुवाँको समस्या समाधान गर्दै फोहोर व्यवस्थापन घरबाटै सुरू गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। त्यस्तै भद्रगोल ट्राफिक व्यवस्थित गर्दै सबैलाई सार्वजनिक यातायात चढ्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो।
फुटपाथ व्यवसायलाई व्यवस्थित, ठूला सडकमा साइकल लेन, बागमती, विष्णुमती, रुद्रमती लगायत नदी व्यवस्थित बनाउने, निम्न आय भएका महिलालाई विशेष राहत भत्ता व्यवस्था गर्ने पनि उनले बताइन्।
यस्तै विदुर पुरुषका लागि विशेष राहत, युवालाई रोजगार, उद्यमी बनाउने, प्रत्येक वडामा कोसेली घर निर्माण, युवालाई खेलकुदप्रति आकर्षण गर्न विभिन्न किसिमका प्रतियोगितात सञ्चालन गर्ने उनको भनाइ छ।
यसैगरी ज्येष्ठ नागरिक केन्द्र स्थापना, चौबिसै घन्टा हिँड्न मिल्ने गरी नेपाल प्रहरीसँग सहकार्य गरी सुरक्षित काठमाडौं निर्माण, सार्वजनिक स्थानमा निःशुल्क खानेपानी वितरण, सार्वजनिक शौचालय निर्माण लगायत आफ्नो प्रमुख प्राथमिकता भएको सिंहले बताइन्।
गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले आफू निर्वाचित भएमा सुशासनयुक्त महानगर, भ्रष्टचारमुक्त महानगर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने बताए।