नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी दिन आग्रह गरेका छन्।
राजधानीमा मंगलबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले आफ्नो अभिव्यक्ति, लेखाइ, हाउभाउ र व्यवहारबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताएका छन्।
‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ। कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने, ‘मेरो हाउभाउले कसैलाई पीडा भएको छ भने माफ पाउँ। हाम्रो संस्कारमा क्षमा माग्न पाइन्छ। केही महिलालाई यो मान्छे कठोर छ कि जस्तो लागेको भए म फूल जस्तो मान्छे हुँ, सेवा गर्न पाउँ।’
उनले केही महिलाहरू आइएनजिओबाट सञ्चालित र अंग्रेजी भाषामा दिक्षीत र आरोप लगाउन मात्र जानेको भन्दै नेपाली भाषा नबुझ्ने दिदी बहिनी आमासँग माफी मागेको बताए।