नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई माओवादीमै फर्कन आग्रह गरेका छन्।
उनले विप्लव पनि चुनावै बाटोमा फर्किएकोमा आफूलाई खुसी लागेको बताएका थिए। ‘तपाईं पुरानै पार्टीमा फर्कनुस्, हामी स्वागत गर्न तयार छौं,’ उनले भने।
रोल्पाको सुनछहरी गाउँपालिकाको फगाममा सोमबार भएको चुनावी सभामा बोल्दै वर्षमानले १० वर्षअघि विप्लवले बाटो विराएको बताए। विप्लव गलत बाटोमा हिँडेकोले नै नेपाल कम्युनिष्ट पार्टीमा फुट आएको उनको दाबी थियो।
कांग्रेस, एमाले र अरू दलका चुनाव चिन्ह लिएर विप्लवका कार्यकर्ता निर्वाचनमा भाग लिएको दाबी पनि पुनको थियो।
‘त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेकै मुलधारमा समाहित हुनु प्राकृतिक र हितकर हुन्छ,’ उनले भने, ‘कतै एमाले त कतै कांग्रेसका चिन्ह लिएर हिँड्नुपर्दैन।’
विप्लव पार्टीमा फर्किएमा उचित जिम्मेवारी दिइने पनि उनले बताए। रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेर उम्मेदवारी दिएको दाबी माओवादीको छ।