रोल्पा, वैशाख २७
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन आग्रह गरेका छन्।
निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावकै बाटोमा फर्किएकामा पुनले पार्टीमा स्वागत गर्न तयार रहेको बताएका हुन्।
मुलधारको राजनीतिबाट अलग रहेर बाटो बिराएका विप्लव १० वर्षपछि सही बाटोमा फर्किएको उनको भनाइ थियो।
‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनुभएको थियो। अहिले सही बाटोमा फर्कनुभएको छ’, गृह जिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मुलधारमा, मुल बाटोमा स्वागत छ।’
आफूहरू गणतन्त्रसहितका परिवर्तन संस्थागत गर्न लागिपरेका बेला प्रतिक्रान्तिकारीको आरोप लगाउँदै विप्लवले पार्टी छाडेको स्मरण गर्दै पुनले उनको ‘एकीकृत क्रान्ति’ को लाइन बिसर्जित भएको टिप्प्णी गरे। गलत बाटो हिंडेकैले विप्लव समूहमा फुट आएको तर्क पुनको थियो।
कतै कांग्रेस, कतै एमाले र कतै अरू दलको चुनाव चिन्ह लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको मुलधारमा समाहित हुनु प्राकृतिक र हितकर हुने पुनले जिकिर गरे।
‘कतै एमाले, कतै कांग्रेस, कतै अरू दलको चिन्ह बोकेर हिँड्नुभएको छ’, उनले भने, ‘अरूका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मुलधारमा आउनुहोस्।’
पार्टीमा फर्किए विप्लवसहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए।
रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेको छ।
फरक प्रसंगमा पुनले देशैभर सत्ता गठबन्धनबीच तालमेल भए पनि कांग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे।
स्थानीय कांग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावनाविपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए।
कांग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ।
सभापति शेरबहादुर देउवा र आफ्नै समूहका नेता रामचन्द्र पौडेलले तालमेलका आधारमा अघि बढ्न दिएको निर्देशन अस्वीकार गरेर रोल्पा कांग्रेसका नेताहरुले ऐतिहासिक गल्ती गरेको टिप्पणी गरे।
पुनले एमालेको वैचारिक र राजनीतिक उत्तराधिकारी नेकपा एकीकृत समाजवादी र नेता माधव नेपाल भएको दाबीसमेत गरे।