नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको गठबन्धन कसैको विरुद्ध नभई आवश्यकताले भएको बताएका छन्।
सोमबार उदयपुरको गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो।’
नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरी राजनीतिक अस्थिरता निम्त्याएका कारण फेरि देशमा राजनीतिक अस्थिरता नहोस् भनेर गठबन्धन गरी सरकार गठन भएको महामन्त्री थापाको भनाइ थियो।
स्थानीय चुनावमा सत्तारूढ पाँच दलले अधिकांश ठाउँमा चुनावी गठबन्धन गरेका छन्।