बुटवल उपमहानरपालिका नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले मतदातालाई हातैले लेखेर चिठी पठाएका छन्।
आफूलाई मत दिन आग्रह गर्दै उनले बुटवलका मतदातालाई चिठी पठाएका हुन्।
‘श्री... ज्यु, साइनो अनुसार ढोग तथा नमस्ते। कुशल छु र हजुर लगायत स-परिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु। विशेषत: हाम्रो बटौलीलाई तपाई हामीले सोचे जस्तो एकातिर शान्त, सुन्दर हराभरा र व्यवस्थीत हराभरा बनाउने र अर्कोतिर व्यापार, शिक्षा पर्यटन स्वास्थ्य लगायत विभिन्न पेशाको उद्गम स्थल बनाउने चाहना तपाईंको र मेरो पनि हो,’ उनले चिठीमा लेखेका छन्।
भट्टराइले सहकर्मी र आफन्तलाई अलग-अलग सम्बोधन गरेको पत्र पठाएका छन्। उनले सहकर्मीहरूलाई ‘प्रिय...’र आफन्त तथा आम मतदातालाई ‘श्री...साइनो अनुसारको ढोग तथा नमस्ते’ लेखेका छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा भट्टराईले मतदाताको मन जित्न घर-घरमा आफैंले लेखेको पत्र पठाएका छन्।
२०४६ साल अघिदेखि संगै राजनीति गरेका सहकर्मी बाबुरामका हातैले लेखेको पत्र दीपनगरका कमलबहादुर थापाले सहजै पहिचान गरे।
‘चिठीमा लेखिएको सम्बोधन र व्यहोराले बाबुरामप्रति माया र सम्मान मात्रै बढेन भूमिगतकालको स्मरण भयो,’ थापाले भने, ‘हामी पुराना जमानाका मान्छे, भूमिगत कालमा यसरी पत्र पठाउने र जवाफ कुरेर बस्ने प्रचलन थियो। यस्ता चिठ्ठी देखेपछि त्यही बेलाको याद आयो।’
भट्टराईले आफ्नो पत्रमा ‘हाम्रो बटौलीलाई तपाई-हामीले सोचेजस्तो सुन्दर, शान्त, हराभरा र व्यवस्थित शहर बनाउने तपाईं र हाम्रो चाहना पूरा गर्न यसपटक सूर्य चिन्ह लिएर उम्मेदवारी दिएको छु’ भन्ने व्यहोरा उल्लेख गरेका छन्।
भट्टराईले लेखेको उक्त चिठी नेकपा एमाले नगर कमिटीले प्रत्येक मतदाताका घरमा पुर्याउने जनाएको छ।
एमाले बुटवल नगर अध्यक्ष किशन ज्ञवालीले मंगलबार साँझसम्म सबै मतदाताका घरमा पत्र पठाइसक्ने योजना रहेको बताए।
‘आधुनिक जमानामा पनि उम्मेदवारले आफ्नै हातले लेखेको चिठी पाएपछि मतदातालाई मन छोएको महसुस गरेका छौं,’ ज्ञवालीले भने।