रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्ताको मोटरसाइकलमा आगजनी गरेका छन्।
सोमबार आठविसकोट नगरपालिका वडा नम्बर १० घारीखोलामा माओवादीका कार्यकर्ताले कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनीसँगै अरु सवारी साधनमा तोडफोड गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार बिहान १० बजे माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रम भइरहेका बेला कांग्रेस र माओवादी कार्यकर्ताबीच आमनेसामने भएको थियो।
घरदैलोका क्रममा आमनेसामने भएपछि कांग्रेसका कार्यकर्ताहरु आफूले प्रयोग गरेका मोटरसाइकल तथा जिप छोडेर भागेका थिए। उनीहरु भागेपछि माओवादी कार्यकर्ताले ती सवारी साधनमा आगजनी गरेका हुन्।
घटनामा कांग्रेस कार्यकर्ताले प्रयोग गरेको भे ८ प ३६२० नम्बरको मोटरसाइकलमा आगो लगाइएको छ। आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।
यस्तै भे ७ प ३०६५ नम्बरको मोटरसाइकल माओवादी कार्यकर्ताले सडकबाट खसालिदिएका छन्। रा ४ प १८७० नम्बरको मोटरसाइकलको लुकिङ ग्लास फुटाइदिएका छन्।
सोही स्थानमा कांग्रेस कार्यकर्ताले छोडेर भागेको लु १ ज २६६१ नम्बरको जिपको सबै सिसाहरु फुटालिदिएका छन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी खटिएका छन् भने घटना स्थलमा दुवै पक्षका कार्यकता भेटिएका छैनन्।