नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार बनेका वडाध्यक्ष एक पछि अर्को गर्दै नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
केही दिन अघि मात्रै वडा–१३ र १५ वाट उम्मेदवार बनेका वडाध्यक्ष टीमसहित एमाले प्रवेश गरेका थिए। सोमाबार माओवादी केन्द्रबाटै वडा–२४ का वडाध्यक्ष पदका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ नेकपा (एमाले) प्रवेश गरेका हुन्।
उनी सहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई नेकपा (एमाले) काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले टिका लगाएर एमाले प्रवेश गरेका हुन्।
पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै होइन उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ,’ उनले भने, ‘केही दिन अघि मात्रै पनि चितवन पुगेर प्रचण्डले चितवनमा आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्दै घीनलाग्दो शब्द प्रयोग गर्नुभयो । उहाँका त्यस्ता अभिव्यक्तिले हामीलाई त्यो पार्टीमा बसिरहन झन असहज भयो र आज एमाले प्रवेश गर्यौं।’
उनले नातावाद र कृपावादलाई प्राथमिकता दिदाँ पार्टीमा लामो योगदान गरेका कार्यकर्ता पाखा परेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।