नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस धम्की सुन्ने पार्टी भएको टिप्पणी गरेका छन्।
आज पोखरामा आयोजित चुनावी सभामा बोल्दै ओलीले कहिले प्रचण्ड त कहिले माधव नेपालले कांग्रेसलाई धम्की दिने गरेको बताए।
‘कांग्रेस त धम्की सुन्ने पार्टी भयो,’ उनले भने, ‘चितवनमा प्रचण्डले, यहाँ हिजो तपाईंहरूले सुन्नुभयो पहिले कति सिट ल्याएका थियौं, हामी भएर सत्तामा पुग्यौ... भन्दै धम्की दिएको।’
सत्तागठबन्धनले आइतबार पोखरामै गरेको चुनावी सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसले महानगर र उपमहानगरमा ६० प्रतिशत ठाउँ पाएको बताएका थिए।
उनले कांग्रेसले ०७४ मा कांग्रेसले धेरै सिट नजितेकोले घमन्डभन्दा पनि मिलेर जानुपर्ने बताएका थिए। अध्यक्ष नेपालका उक्त भनाइप्रति आज नेपालले कांग्रेसलाई धम्क्याएको अर्थ लगाए।
सत्तागठबन्धन स्वार्थी अवसरवादीहरू मिलेर बनेको ओलीको आरोप थियो।
‘स्वार्थी अवसरवादीहरू र देश बनाउने चिन्तन नभएकाहरू मिलेर बनेको गठबन्धन बनेको हो, यसलाई बिदा गर्नुपर्छ,’ उनले भने, ‘देशमा बलियो राष्ट्रिय शक्ति आवश्यकता छ।’
उनले एमालेबाट टुक्रेको पार्टीलाई सत्तागठबन्धनले मेयर उम्मेदवार बनाएको बताएका थिए। यहाँ एकीकृत समाजवादीका धनराज आचार्य मेयर पदका उम्मेदवार छन् भने नेपाली कांग्रेसले उपमेयर उठाएको छ।
एमालेबाट यहाँ कृष्ण थापा मेयर उम्मेदवार छन्। उनले पार्टीले उठाएका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए।
उनले 'माधव नेपालले अलमल्याएका मानिसहरू एमालेमा आउन' आग्रह गरेका थिए।