नेपाली कांग्रेसले स्थानीय चुनावले गर्दा सत्तागठबन्धन नटुट्ने बताएको छ।
ठाउँ विशेषमा जित्दा वा हार्दा सत्तागठबन्धन नटुट्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गरी सत्तागठबन्धन असार १७ पछि भत्कने ज्योतिषहरूले बताएको अभिव्यक्ति दिएका थिए।
त्यसप्रति लक्षित गर्दै कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै सत्तागठबन्धन निरन्तर रूपमा अघि बढ्ने प्रष्टाएको छ।
कांग्रेस प्रवक्ता महतले ओलीका अभिव्यक्ति मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्न सकिन्छ कि भनेर आएको रूपमा अर्थ लगाएका छन्।
‘ओलीजीले मनोवैज्ञानिक प्रभाव दिन खोज्नुभएको हो। सत्तागठबन्धन टिक्दैन किन मतदान गर्नुहुन्छ भन्ने उहाँले मनोवैज्ञानिक क्षेप्यास्त्र प्रयोग गर्नुभएको हो,’ उनले भने, ‘उहाँको क्षेप्यास्त्र बीचमै खस्छ, टार्गेटमा पुग्दैन।’
एमाले अध्यक्ष ओलीका मनोरञ्जन दिने, हसाउने विशेषता रहेको उनले टिप्पणी गरे।
‘उहाँ यस्तो गरिरहनुहुन्छ। उहाँको विशेषता भनेकै मनोरञ्जन दिने, हसाउने, उखान उक्का जोड्ने हो,’ उनले भने, ‘कस्तो मजासँग भन्यो भन्ने पार्ने हो। नेपाली जनता सरल सिधा छन्। उहाँको विशेषता काम होइन कुरा हो। कुरा गर्नेसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं।’
असार १७ पछि गठबन्धन अघि जाँदैन भनेर झटारो हान्ने काम ओलीले गरेको पनि महतले बताए।
‘यो पनि उहाँले झटारो हान्नुभएको हो। लक्ष्यमा पुग्दैन बीचमै गिर्छ। हाम्रो तालमेल यथावत रहन्छ। कुनै ठाउँ विशेषको परिणामले गठबन्धन टुट्ने सम्भावना म देख्दिनँ,’ उनले भने।