नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा रेनु दाहाल मेयरमा पराजित भएमा कुनै राजनीतिक दुर्घटना नहुने बताएका छन्।
प्रचण्डले केही दिन अघि चितवन पुगेर 'रूखवालाहरूले हँसिया हतौडामा भोट नहाले राजनीतिक दुर्घटना हुने' चेतावनी दिएका थिए।
प्रचण्डका अभिव्यक्तिप्रति लक्षित गर्दै आज चितवनमा भएको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले कसैले धम्क्याएको भरमा मत नहाल्न आग्रह गरेका थिए।
‘प्रचण्डले चितवनका जनताले मेरा छोरीलाई जिताएनन् भने दुर्घटना हुन्छ। रूखवालाले हँसिया हतौडामा भोट हालेनन् भने दुर्घटना हुन्छ। थपक्क भोट हालेर जिताए भने म खुसी हुन्छु। २० वर्ष गठबन्धन टिकाइदिन्छु भन्नुभएछ,’ उनले भने, ‘जनतालाई धम्क्याउने? धम्कीको केही अर्थ छैन। यहाँ कुनै दुर्घटना हुँदैन। गठबन्धन नराम्ररी हार्छ। अरू कुनै दुर्घटना हुनेवाला छैन।’
धम्क्याउनेहरू चिसै पानीले नुहाउने पनि उनले बताए। ‘धम्क्याउने तर्साउनेलाई भोट नदिनुस्, केही हुने वाला छैन,’ उनले भने।
उनले कांग्रेसका चितवनका नेताहरूप्रति आफ्नो सहानुभूति रहेको बताए।
‘कांग्रेसका नेता/कार्यकर्ताप्रति सहानुभूति छ। कसरी मन थामेका होलान्,’ उनले भने, ‘प्रचण्डका छोरी जिताउनुपर्ने। जिन्दगीभर कांग्रेस भनेर हिँडेका साथीहरू हेर्नुस् त पोहोर पनि ढाट्यौं यसपालि पनि ढाट्यौं गीतजस्तै।’
प्रचण्डले अहिले रेनुलाई जिताए २० वर्ष गठबन्धन जोगाउने बताएको भन्दै ओलीले भने, ‘पहिले पनि उनैलाई जिताए। अहिले पनि उनै। उनलाई जिताए प्रचण्ड खुसी र उत्साहित हुनुहुन्छ रे। २० वर्ष गठबन्धन रहन्छ रे। कांग्रेसका कार्यकर्ताको हालत २० वर्ष छोरी बोक, त्यसपछि ज्वाइँ, भाइ भतिजा बोक।’