सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पुर्याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताएकी छन्।
आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएकी छन्।
उनले स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बताइन्। आफू काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान पुर्याउने उनले दाबी गरिन्।
‘काठमाडौं ऐतिहासिक शहर हो। विश्व सम्पदा सूचिमा पनि परेको छ। यस शहरका थुप्रै आफ्नै मौलिक सभ्यता, सम्पदा छन्। यहाँका मुर्तिकला, बास्तुकला, चित्रकला, यहाँका नाटकहरु, अरु कलाकारिता भैरवनाथदेखि यहाँका कलाकारिता पनि आफ्नै मौलिक छ’, उनले भनिन्, ‘तर स्थानीय सरकारले ध्यान नपुर्याउँदा त्यो लोप हुने अवस्थामा गइराखेको छ। खालि राजनीतिमात्र गर्दा यस्ता चिजहरु सबै लोप हुन गइराखेको छ।’
त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहसँग अर्का उम्मेदवार केशव स्थापितको तुलना गर्न नमिल्ने बताए।
सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको उल्लेख गर्दै उनले स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको बताए।
पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउनका लागि उनको तत्कालिन पार्टीले सो पदमा पठाएको उनले दाबी गरे।
‘तिनै निमित्त राजाले संसारभरको सुख, सुविधा दिएर तिनलाई सरकारी राज्यकोष प्रयोग गर्न पाउने गरि यही मेयर पदमा नियुक्त गर्नुभएको होइन? नजरबन्दमा रहने नेत्री सिर्जना सिंहसँग राजाको राज्यकोषबाट सुविधा भोग्ने मान्छेको कुनै तुलना हुन्छ?,’ उनले प्रश्न गरे।
यो एउटा प्रशंग र एउटा तुलना नै हाम्रो प्रतिनिधिका रूपमा कसलाई छनोट गर्ने भन्ने निर्णय लिन पर्याप्त रहेको उनले बताए।