१ जना वडाध्यक्ष, २ जना खुला सदस्य, ६ जना महिला सदस्य र ३४ जना दलित महिला सदस्यसहित ४३ जना जनप्रतिनिधि प्रदेश १ मा निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश १ मा यसरी निर्विरोध निर्वाचित हुनेमध्ये सबभन्दा बढी नेकपा एमालेका छन्।
एमालेका १५ जना जनप्रतिनिधि निर्विरोध छानिँदा नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका ९, स्वतन्त्र ५ र राष्ट्रिय जनमुक्ति पार्टीका १ जना निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार सबभन्दा धेरै ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित भएका छन् भने पाँचथरमा ५, इलाममा ५, संखुवासभामा ३, तेह्रथुममा ३, धनकुटामा ३, भोजपुरमा ३, झापामा २, सुनसरीमा २, उदयपुरमा २ तथा मोरङ, खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा १/१ जना निर्विरोध निर्वाचित भएका छन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ मा वडाध्यक्ष छेतेन लामा शेर्पासहित सदस्यहरु फुपु लामु शेर्पा, विपना सम्बाहाम्फे, टासी शेर्पा र बाङ्ग्या शेर्पा निर्विरोध भएका छन्। उनीहरू सबै स्वतन्त्र उम्मेदवार हुन्।
यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ मा कांग्रेसबाट दलित महिला सदस्य मञ्जु कार्मी, मिक्वाखोला गाउँपालिका ३ मा दलित महिला सदस्य लछिमायाँ विश्वकर्मा, सिरिजंघा गाउँपालिका ८ मा दलित महिला सदस्य सितादेवि सार्की निर्विरोध भएका छन्।
मिक्वाखोला गाउँपालिका ५ मा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सरिता गहते र फुङ्लिङ नगरपालिका ५ मा एमालेबाट दलित महिला सदस्यमा गंगा दर्नाल निर्विरोध निर्वाचित भएका छन्।
माओवादी केन्द्रबाट पाँचथरको फालेलुङ गाउँपालिका ४ मा कविता विक, फालेलुङ गाउँपालिका ८ मा अमृता शंखर, फिदिम नगरपालिका ३ मा बुधमायाँ नेपाली, फिदिम नगरपालिकाकै १३ मा सिता गिरी वर्देवा दलित महिला सदस्यमै निर्विरोध निर्वाचित भएका छन्।
इलामको देउमाइ नगरपालिका १ मा एमालेका विष्णुमाया नेपाली, माङ्सेबुङ गाउँपालिका ६ मा धनकुमारी विश्वकर्मा, सन्दकपुर गाउँपालिका १ मा दिलमाया कामिनी दलित महिला सदस्यमा निर्विरोध भएका छन्।
रोङ गाउँपालिका ४ मा महिला सदस्यमा एमालेबाट मिनादेवी तामाङ निर्विरोध भएकी छन् भने दलित महिला सदस्यमा माइजोगमाई नगरपालिका २ बाट कांग्रेसकी रूपादेवी दियाली र माङसेबुङ गाउँपालिका ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका तिलरूपा सबेहाङ निर्विरोध भएकी छन्।
झापाको कचनकवल गाउँपालिका ४ मा कांग्रेसबाट दलित महिला सदस्यमा बिजली दास र मेचीनगर नगरपालिका ११ मा एमालेबाट रञ्जिता नेपाली निर्विरोध भएका छन्।
मोरङको केराबारी गाउँपालिका १ को महिला सदस्यमा कांग्रेसकी कमला राई निर्विरोध निर्वाचित हुँदा दलित महिला सदस्यमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा कांग्रेसकै बिमलादेखि मोची र हरिनगर गाउँपालिका ५ मा माओवादीकी सुखियादेवी पासवान निर्विरोध भएकी छन्।
धनकुटाको चौबिसे गाउँपालिका ८ मा माओवादीकी रत्नमाया परियार, पाख्रिबास नगरपालिका ९ मा कांग्रेसकी डम्बरमाया दर्जी र साँगुरीगढी गाउँपालिका ७ मा कांग्रेसकै कुमारी विश्वकर्मा निर्विरोध भएकी छन्।
उनीहरू सबै दलित महिला सदस्य पदमा निर्वाचित भएका हुन्।
तेह्रथुमको आठराई गाउँपालिका ५ मा एमालेकी निर्मला धौलाकोटी, मेन्छयायेम गाउँपालिका १ मा कांग्रेसकी प्रवृत्ति विक र लालिगुराँस नगरपालिका ७ मा कांग्रेसकै मनकुमारी कामी दलित महिला सदस्यमा निर्वाचित भएका छन्।
संखुवासभाको भोटखोला गाउँपालिका १ मा एमालेकी अम्बिका विश्वकर्मा दलित महिला सदस्यमा, भोटखोला गाउँपालिका ४ मा एमालेकी चिप्मा भोटे महिला सदस्यमा र मकालु गाउँपालिका २ मा कांग्रेसकी सविना जैरु दलित महिला सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार भोजपुरको आमचोक गाउँपालिका ७ मा माओवादी केन्द्रकी रत्नमाया परियार, रामप्रसाद राई गाउँपालिका ८ मा एमालेकी तिर्थदेवी कामी र हतुवागढी गाउँपालिका ३ मा एमालेकी लक्ष्मी विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन्। उनीहरू पनि दलित महिला सदस्यमा निर्वाचित भएका हुन्।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादीकी सर्मिला मगर, खोटाङको खोटेहाङ गाउँपालिका ५ मा एमालेकी बच्चिमायाँ परियार, ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मा एमालेकै डल्लीमायाँ विश्वकर्मा र उदयपुरको रौतामाई गाउँपालिका १ मा एमालेकी फुलमाया विक निर्विरोध भएका छन्।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका १ मा माओवादीकी देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश १ मा ६ पालिकाको दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन आयोगले जनाएको छ। निर्विरोध निर्वाचित भएकाहरूलाई निर्वाचन सम्पन्न भएर मतगणना सकिएपछि अन्य निर्वाचितसँगै प्रमाणपत्र वितरण गरिनेछ।
आयोगका अनुसार निर्वाचनमा देशभर ३ गाउँपालिका अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित भएका छन्।
३५ हजार २२१ जनप्रतिनिधि छान्नका लागि वैशाख ३० गते निर्वाचन हुँदैछ। निर्वाचनमा कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी रहेको आयोगले जनाएको छ।