नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने बताएका छन्।
आफूले यसबारे बोल्दा मतदाता धम्क्याएको भन्दै आलोचना गर्ने गरेको उनको गुनासो छ।
‘लोकतन्त्र र संघीयता विरोधीलाई परास्त गर्न यो गठबन्धन जन्मेको हो, अर्को राजावादीको गठबन्धन आएको छ,’ पोखरामा आज सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले भने, ‘उनीहरुले जिते देशमा राजनीतिक दुर्घटनाको खतरा छ।’
संविधानको रक्षा, गणतन्त्र र संघीयता पक्षधर भएकाले गठबन्धनको राजनीतिक मुद्दा पनि मिलेको प्रचण्डको दाबी छ।
राजावादी शक्ति परास्त गर्न नसके देशमा राजनीतिक दुर्घटना हुने कुरा बताउँदा आफूलाई मतदाता धम्क्याएको आरोप आएको उनले बताए।
‘मैले यो कुरा गर्दा जनता धम्क्यायो, हामीले नजिते देशमा दुर्घटना हुन्छ भनेर अर्थ लगाइएको छ,’ उनले भने, ‘फेरि भन्न चाहन्छु, यो गठबन्धन दायाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ।’
स्थानीय निर्वाचन अग्रगमन र प्रतिमनबीचको लडाइँ भएको उनले बताए।
‘निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा आएको छ, हामी शान्ति, परिवर्तन र संविधानका पक्षधर एकातिर र उल्ट्याउन चाहने सामन्ति प्रतिक्रियावादी तत्व अर्कोतिर छ,’ उनले भने।
गठबन्धन गर्दा सबै दललाई फाइदा पुगेको समेत प्रचण्डले बताए।
‘५० प्रतिशत कांग्रेसले पाएको छ, कांग्रेसलाई पनि फाइदा, माओवादी, समाजवादी र जसपालाई पनि फाइदा,’ उनले भने, ‘एकातिर मुद्दा मिल्ने, अर्कोतिर फाइदा।’