नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमजोर तत्वलाई लिएर नेपाली कांग्रेसले उल्टो बाटो समातेको बताएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ओली कांग्रेसप्रति खनिएका थिए। ओलीले सरकारबाट बाहिरिएका बेलाका प्रसंग निकाल्दै कांग्रेसको षड्यन्त्रले चरम रूप लिएको दाबी गरेका थिए।
‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो। कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्यो,’ अध्यक्ष ओलीले भने।
उनले राजनीतिक दलको आधारभूत मर्ममाथि कांग्रेसले प्रहार गरेको पनि बताए।
‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो। संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास गर्यो। संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो। स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो,’ उनले भने।
एमालेले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाका लागि चुनावमा जाने निर्णय गरे पनि सर्वोच्च अदालतको परमादेशपछि नयाँ सरकार बनेको ओलीको भनाइ थियो।
‘त्यसबेला एमाले सरकारका सामु अन्य विकल्प थिएन, जनादेशका लागि जनतामा जाने निष्कर्ष भयो। तर अदालतको परमादेशले सरकार बदलियो,’ उनले भने, ‘विकास अभियान फेरि एकपटक अवरूद्ध भयो। चरम पदीय स्वार्थ राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको प्रहारलाई जनताकै मतबाट प्रहार गर्न हामी आएका छौं।’
कांग्रेसले एमालेसँग सहकार्य नगर्ने पनि उनले बताएका थिए।
‘कांग्रेस एमालेसँग सहकार्य गर्दैन। राणा, निरंकुश राजासँग घाँटी जोडेको थियो,’ उनले भने, ‘कांग्रेसले जनतामा विश्वास गर्दैन।’ उनले अब दुई कार्यकाल एमालेलाई जिताउन पनि आग्रह गरेका थिए।
ओलीले सत्तागठबन्धनको पनि विरोध गरेका थिए। उनले कांग्रेसलाई मत दिने सोच बनाउनेलाई पनि एमालेलाई सहयोग गर्न आग्रह गरेका थिए।