नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अहिले हुने स्थानीय चुनावबाट अहंकारी, अलोकतान्त्रिक र जनताको अधिकार खोसेर एकाधिकार जमाउने प्रवृत्तिलाई अन्त्य गरिनुपर्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको शासनकाललाई अहिले नै नविर्सन पनि उनले आग्रह गरेका छन्।
‘अहिलेको निर्वाचन राजनीतिक विषयहरुसँग पनि जोडिएको छ। हामीले केपी ओलीको शासनकाललाई बिर्सिएका छैनौँ,’ पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘हिजो सूचना प्रविधि विधेयक जसरी आयो, मानवअधिकार विधेयक जसरी आयो, गुठी विधेयक जसरी आयो, प्रेस काउन्सिल विधेयक जसरी आयो, त्यसले प्रष्ट संकेत के गर्छ भने- ओलीले दुईतिहाइ विकास निर्माण गर्न होइन, नेपालको संविधानलाई कमजोर बनाउनका प्रयोग गर्नुभयो।’
उनले संवैधानिक उपलब्धिहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टीलाई चुनावबाट परास्त गर्न जरूरी रहेको बताए।
‘ओली आफू शासकका रुपमा असफल हो। सँगसँगै उहाँको नियत संवैधानिक उपलब्धिहरुलाई समाप्त गर्ने पनि थियो,’ पौडेलले भने, ‘त्यसैले संवैधानिक उपलब्धिलाई समाप्त गर्ने बाटोतिर उद्दत भएको पार्टी, व्यक्ति अथवा प्रवृत्तिलाई यो निर्वाचनले परास्त गर्न जरुरी छ।’
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट एमाले अनुमोदन भएर आए लोकतन्त्र सुरक्षित गर्न नसकिने उनले बताए।
‘यो निर्वाचनमा फेरि पनि त्यो प्रवृत्ति अनुमादित भएर आयो भने हामीले लोकतन्त्रलाई सुरक्षित गर्न सक्दैनौँ,’ पौडेलले भने, ‘त्यस अर्थमा स्थानीय तहको निर्वाचन महत्वपूर्ण छ। यो निर्वाचन कसले जित्छ, त्यसले पछिल्ला निर्वाचनहरुमा असर, प्रभाव पर्ने स्थिति बन्छ।’