राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार मात्र गरेको आरोप लगाएका छन्।
ठूला भनिएका दलहरूले जनतालाई कर बढाउने र भ्रष्टाचार गर्ने गरेको उनको आरोप छ।
पोखरामा शनिबार आयोजित आम सभालाई सम्बोधन गर्दै लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी नष्ट हुन दिने तर भ्रष्ट हुन नदिने प्रतिबद्धता जनाए।
राप्रपाका उम्मेदवारलाई जिताए पोखरा महानगर भ्रष्टाचारमुक्त हुने उनको भनाइ छ।
‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन,’ उनले भने, ‘यो पटक राप्रपाका उम्मेदवारहरूलाई भोट हालेर जिताउनुहोेस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु।’
एमाले र कांग्रेसलाई पत्तासाफ पार्न राप्रपालाई मतदान गर्नुपर्ने लिङ्देनले बताए।
राप्रपाले जिते अर्को पटक भोट माग्न नआउने भन्दै आफ्ना उम्मेदवारले गरेका राम्रा काम देखेर स्वतस्फूर्त राप्रपालाई भोट हाल्ने अवस्था आउने उनको भनाइ छ।
‘मतदाताहरूले राप्रपाको चुनाव चिन्हमा छाप लगाएर एमाले र काँग्रेसलाई पत्तासाफ बनाउन म आग्रह गर्दछु, जम्मा एकचोटी राप्रपालाई जिताइदिनुहोस्,’ लिङ्देनले भने, ‘अर्कोपटकबाट हाम्रा उम्मेदवारहरू यसो गर्छु भन्दै तपाईकहाँ भोट माग्न आउने छैनन्। हाम्रा जनप्रतिनिधिले गरेका कामहरू देखेर जनताले स्वतस्फूर्त रूपमा हामीलाई नै निरन्तर भोट दिनेछन्।’
झापामा आफूले भिख मागे जसरी भोट माग्न जरूरी नभएको उनले दाबी गरे। आफूले गरेका काम देखेर झापाका मतदाताले स्वतस्फूर्त राप्रपालाई मतदान गर्न लालयित भएको लिङ्देनको दाबी छ।
जीवनभर आफू भ्रष्टाचारमा नमुछिने बताउँदै उनले राप्रपाप्रति आकर्षण बढेको दाबी गरे।
उनले भने, ‘दिनप्रतिदिन पार्टीप्रति युवापुस्ता र जनताको आकर्षण बढेको तथ्याङ्कले नै पुष्टि गर्छ।’
मतदान गर्दा कस्तो व्यक्ति भनेर सोचविचार गर्न उनले आग्रह गरे।
‘तपाइहरूले भुइँमा भएका मान्छेलाई माथि पुर्याइदिन सक्नुहुन्छ,’ उनले भने, ‘मतदान गर्ने भनेको हात काटेर दिए जस्तै हो। कम्तिमा त्यो हात अप्ठ्यारो पर्दा उद्धार गर्न आओस्।’
मतदान गर्दा बुबा, बाजे र आफन्तको पार्टी भनेर अलमलिन नहुने उनको सुझाव छ। मतदान गर्दा गलत पार्टी र नेता पर्यो भने देश र समाजले दुख पाउने लिङ्देनले बताए। एमाले र कांग्रेसलाई सुधार्न पनि राप्रपालाई मतदान गर्नुपर्ने लिङ्देनको भनाई छ।